आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क ३ अर्ब ९८ करोड
काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्ममा करिब ४ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको साउन मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघुबिमा कम्पनीसहित १६ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३ अर्ब ९८ करोड ५९ लाख ४७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।
जसमध्ये २ वटा लघु निर्जीवन बिमा कम्पनीले ९५ हजार रुपैयाँ मात्रा बिमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनीले सबैभन्दा धेरै ५५ करोड १५ लाख ७० हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ४२ करोड ५० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, अन्य १० वटा निर्जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क पनि २० करोड रुपैयाँ भन्दा माथि रहेको छ ।
चालु आर्थिक वर्षको एक महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीले २ लाख १३ हजार ८०३ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले २५ वटा मात्र बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सले २७ हजार १८४ वटा बिमा लेख जारी गरेको छ ।