भगवती हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज ८ गते शुक्रबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले भदौ ८ गते शुक्रबार कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको हो ।
प्रतिशेयर रु। १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. ११६ मा आईपीओ निष्काशन खुला गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयर ७१ हजार २ सय २२ जनाले १०–१० कित्ता पाउने छन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।