ह्याम्स अस्पताल र द क्लिफबीच छुट र बजारीकरण सहकार्यको लागि सम्झौता
काठमाडौं । ‘द क्लिफ’ नेपाल र ह्याम्स अस्पतालबीच आफ्ना सेवा सुविधामा सहयोग गर्ने सम्झौता भएको छ।
ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालका सेवा सुविधामा छुट दिने र एकअर्काको बजारीकरण गर्ने सम्झौतामा उल्लेख छ।
अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपिडी तथा आइपिडी सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ। साथै ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरूको लागि हेल्थ अवारनेस कार्यक्रम गर्ने बताइएको छ।
यस्तै, क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिनेछ। द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रुपमा बजारीकरण गर्ने सम्झौता उल्लेख छ।
क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रुपमा प्रवर्द्धन गरिनेछ। द क्लिफको वेबसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ।
सम्झौतापछि सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवर्द्धन गरिने बताइएको छ।