डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार यज्ञ बञ्जाडेलाई प्रदान गरिने

काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर दैनिकका उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर भदौ २१ गते बिहीबार कान्तिपूर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको हो ।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश : नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा बिजय राज खनाललाई प्रदान गरिएको थियो ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारका लागी विगत एक दशक भन्दा लामो समय देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका कान्तिपूर दैनिकका उप सम्पादक यज्ञ बञ्जाडेलाई लाई वि.सं. २०८० को डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरुप नगद रु. ५० हजारसहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कार २०८० भदौ २१ गते बिहीवारका दिन पत्रकार यज्ञ बञ्जाडेलाई प्रदान गरिने कार्यक्रम रहेको छ ।