मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आइतवार साझ आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा भाग्यमानी २ लाख २७ हजार ६६२ जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीले सर्वसाधारणमा साउन २८ देखि ३१ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख १६ हजार ५२९ जना आवेदकहरूले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर खरीदका लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये १३ लाख ११ हजार ५१७ जनाको मात्र आवेदन रितपूर्वक भएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । रितपूर्वक नभएको ५ हजार १२ जनाबाट प्राप्त ८२ हजार ७० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको छ । योग्य आवेदकहरूमध्ये १० लाख ८३ हजारभन्दा बढी आवेदकहरूको हात खाली भएको छ ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली , आयोजना प्रभावित स्थानीय, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको हो । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ विक्री तथा बाँडफाँट गरिएको हो ।
यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।