तारागाउँ रिजेन्सी होटल्सको नाफामा आकर्षक वृद्धि
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा तारागाउँ रिजेन्सी होटल्सको खुद नाफा १००.८०% ले बढेर ३८ करोड २६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा होटल व्यवसायमा उल्लेख्य वृद्धि भएको कारण नाफा ह्वातै बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनमा वृद्धि भएको कम्पनीको भनाई छ । फलस्वरुपः चालु आर्थिक वर्षमा पनि व्यवसाय विस्तार हुने अपेक्षा होटल्सले गरेको छ । सोहीअनुसार रणनीति बनाउने कम्पनीले जनाएको छ ।
होटल्सले यो त्रैमाससम्ममा कुल १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । जसमध्ये सञ्चालन आम्दानी १ अर्ब ३८ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ । अन्य स्रोतबाट १८ करोड ७० लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ ।
चुक्ता पुँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको तारागाँउको रिजर्भ कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ छ । यस होटल्सको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ १० पैसाबाट बढेर २० रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ ।