गोरु काटेर भोज गर्नेलाई हिन्दु परिषद्द्वारा कारबाहिको माग

काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले गोरु काटेर भोज गर्नेहरुमाथि तुरुन्त कारबाहीको माग गरेको छ ।
सुनसरीको धरानमा केही व्यक्तिले सार्वजनिक रुपमा गोरु काटेर आयोजना गरिएको भोजप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै परिषद्ले त्यस्तो कार्य गर्नेलाई कडा कानूनी कारबाहीको माग गरेको हो । उसले आज जारी गरेको विज्ञप्तिमा कानूनले गौहत्यालाई दण्डनीय अपराध भनेपनि त्यसअनुसार व्यवहारमा लागू नभएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
सार्वजनिक रुपमै गाईको मासुको भोज आयोजना गरि भिडियो बनाएर सामाजिक सञ्जालमा ब्यापक बनाउँदासमेत प्रहरी प्रशासन मौन रहनुले राज्यको चरित्रमा समेत प्रश्न चिन्हा खडा भएको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, धरानस्थित एक हिन्दु मन्दिरको छेउमा इसाई धर्मावलम्बीहरुको धार्मिकस्थल चर्च स्थापना गरेकोमा पनि विश्व हिन्दु परिषद्को आपत्ति छ । विज्ञप्तिमा चर्च स्थापनामा मेयर हर्क साङपाङको मौन समर्थन एवम् संलग्नताले धरानमा हिन्दु विरोधी तत्वको मनोबल बढेको आरोपसमेत लगाइएको छ ।
यस्ता घटनाक्रमले हिन्दु समुदायको आस्था र भावनामा गम्भीर चोट पुगेको उल्लेख गर्दै पारिषदले गाई काट्नेहरुलाई तत्काल पक्रेर कडा कारबाही गर्न माग गरेको छ ।
‘गौहत्यामा संलग्न अपराधीलाई समयमै कानूनी दायरामा ल्याइएन भने सामाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रिय जनावरको रक्षा एवम् बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवम् यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडाभन्दा कडा कारबाही गर्न हामी सम्बन्धित निकायसमक्ष हार्दिक अपिल गर्दछौं ।’
परिषद्ले कुनै पनि बहानामा यस्ता अपराधीलाई जोगाउने प्रयास गरिएमा कठोर कदम चाल्न बाध्य हुने र त्यसपश्चात् सिर्जित परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष स्वयम् हुने चेतावनीसमेत दिएको छ ।