इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसकाे अवसरमा काठमाडौँमा झन्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइएको छ। काठमाडौँमा झन्डोत्तोलनसहित दिवस मनाइएको हो। नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालयमा एक समारोहबीच झन्डोत्तोलन कार्यक्रम गरिएको हो।
इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा दिइएको शुभकामना सन्देश सुनाउँदै नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच रहेको सुमधुर सम्बन्ध जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने सम्भावना रहेकोले आगामी दिनमा सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बंगलादेशको राजधानी ढाकामा छ। इन्डोनेसिया आसियान राष्ट्रहरूमध्ये ठूलो अर्थतन्त्र भएको एक मुलुक हो।