‘रंगेली ग्याङ्स्टर्स’ बन्यो, ‘रंगेली’, महाशिवरात्रिमा रिलिज हुने
काठमाडौं । निर्माण घोषणादेखि नै चर्चित बनेको नेपाली चलचित्र ‘रंगेली ग्याङ्स्टर्स’को नाम परिमार्जन गरी ‘रंगेली’ राखिएको छ। निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको हाे।
वक्तव्यमा शीर्षकमा गरिएको यो परिमार्जनले हाम्रो समाजभित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विज्ञप्तिमा भनिएकाे छ, ‘यस चलचित्रको छायांकन हुने स्थान मोरङ जिल्लाको रंगेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो। त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो। उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो। यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन।’
महाशिवरात्रीको अवसर पारी रंगेली आगामी फागुन २५ गते रिलिज हुनेछ। यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडालगायतको प्रमुख भूमिका रहनेछ।
आगामी भदौ २० गतेबाट चलचित्र छायांकनमा जानेछ। चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्।