एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा घट्यो
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.६१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको लगानी आम्दानी बढेपनि वित्तीय आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको लगानी आम्दानी ४४६.३८ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २६.१३ प्रतिशत घटेको छ। यससँगै कम्पनीको कुल आम्दानी १४.१५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १८.८३ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३२.८५ गुणा रहेको छ।
१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।