नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक, ११ अर्ब ८५ करोड खुद मुनाफा
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।
कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको हो । उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ ।
जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ । कम्पनीले हालको तीब्र प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचीअनुरुप भ्वाइस तथा डाटा प्याकेजहरु ल्याउनुका साथै समयानुकुल शुल्कमा परिमार्जन गर्दै आइरहेको छ ।