निर्धन उत्थान लघुवित्तको अधिकांश सूचकमा गिरावट

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा निर्धन उत्थान लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ९९.८६% ले घटेर १० लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा यसले ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा पनि प्रभावित भएको हो । साथै, यसअवधिमा इम्पेयरमेन्ट चार्ज ह्वातै बढेकाले पनि नाफामा असर गरेको हो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.२१% र ७०.५६% ले घटेका छन् । यता कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । अघिल्लो वर्ष ५.३०% रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ९.८७% भएको छ । कम्पनीको अधिकांश सूचक घटेसँगै प्रतिसेयर आम्दानी पनि भारी मात्रामा घटेको छ ।
प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १३ पैसाले घटेर ० रुपैयाँ ४ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा छ ।