महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले यस्ताे बताएका हुन् ।
महिला औद्योगिक पार्ककाे अवधारणा अब कसैले रोक्न नसक्ने मन्त्रीले दाबी गरेका छन् । सुन्दा सामान्य लागेपनि, पछि मान्छेले यसबारेमा थाहा पाउने भन्दै उनले यो दुरगामी अवधारणा भएकाे बताए । उनले भने, “महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।”
मन्त्री महतले भने,‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्’ । यसैगरी, उनले ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको तथा राज्यलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्नेमा जाेड दिए ।
देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेका छन् । आईटी सेक्टर पनि जोडिन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’
सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनुपर्ने भन्दै यसमा सरकारले भरपूर सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा. महतले बताए ।