रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा साउन २५ गते साँझ ५ः०६ बजेसम्ममा १० लाख ८२ हजार ३७९ जनाले १ करोड ३० लाख ५९ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.३६ गुणा बढी आवेदन हो ।
कम्पनीले साउन २३ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ । त्यस्तै, ५% (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।