सिटिजन लाइफको आईपीओ बाँडफाँट, वैदेशिक रोजगारीमा रहेकाले ५० कित्तासम्म शेयर पाए

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ देखि साउन १४ गतेसम्म वैदेशिक रोजगारीमार रहेका नेपालीका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले सोमवार आईपीओ बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकका अनुसार न्युनतम १० देखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ जना आवेदकहरूलाई माग बमोजिम र ५० देखि २ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरूलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको छ । ५० देखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जनालाई गोलाप्रथा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको आईपीओको तथ्याङ्कलाई हेर्दा अधिकतम ५० कित्तासम्म आर्इृपीओ प्राप्त गरेका छन् ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ११ लाख २५ हजार कित्ता आईपीओ बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र २७ हजार ६३२ जनाबाट वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आवेदन प्राप्त भएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये ४ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ । क्यापिटलको अनुसार कुल २७ हजार ६२८ जना आवेदकहरूको आवेदन रितपूर्वक प्राप्त भएको थियो ।