सागर डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौ । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे हो ।
मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्नेछ । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि कम्पनीले जारी पूँजीको १५ प्रतिशत आईपीओ निकाल्ने निणर्य गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी गराए । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ ।
नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको स्थापना भएको जनाएको छ र कम्पनीको फ्याक्ट्री देवचुली,नवलपुरमा रहेको छ ।
कम्पनीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिराजन्य उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।