गत आर्थिक वर्षमा भित्रिए ४ हजार बढी इलेक्ट्रिक सवारी
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन भित्रिएका छन् । यो अहिले सम्मकै सबैभन्दा बढी संख्या हो ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सो तथ्य वाहिरिएको हो । असार मसान्त सम्म भित्रिएका इलेक्ट्रिक सवारी साधन मध्ये सबैभन्दा बढी अर्थात ४ हजार ३१ युनिट १०० किलोवाट सम्मका इलेक्ट्रिक कार, जिप र भ्यान छन् । त्यसैगरी १०१ देखि २०० किलोवाट सम्मका १५ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ४ युनिट रहेका छन् ।
यो भन्दा पहिले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ युनिट मात्र इलेक्ट्रिक सवारी साधन भित्रिएका थिए ।
यो भन्दा पहिले आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र भ्यान भित्रिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।
नेपालमा चालु अर्थिक वर्षको साउन महिनामा २११, भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।
त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए । जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । असार महिनामा भने १८० विद्युतीय कार, जिप र भ्यान मात्र भित्रिएका छन् ।