सिनर्जी पावरको हकप्रद निष्कासन गर्ने मिति सर्यो
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद भर्ने समय परिवर्तन भएको छ । कम्पनीको हकप्रदमा अब भदौ ३ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर, आज कम्पनीले यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै हकप्रद सेयर निष्काशन गर्ने मिति परिवर्तन गरेको जनाएको छ ।
कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।