म्युचुअल फन्डहरुको नाफा ९३.६७ प्रतिशतले बढ्यो
काठमाडौं । नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले गत असार महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिसम्म आइपुग्दा फन्डहरुले २ अर्ब ७९ करोड ६ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । नाफा ९३.६७% ले बढेको हो ।
अघिल्लो महिना यिनीहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत असार सेयर बजारमा वृद्धि देखिएका कारण फन्डहरुको नाफा पनि बढेको हो । म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ ।
यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढ्ने वा घट्ने भइरहन्छ । गते जेठदेखि साउन पहिलो हप्तासम्म नेप्से सूचकमा वृद्धि देखिएको थियो ।
अघिल्लो महिना २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ रहेको फन्डहरुको सेयरमा लगानी अहिले बढेर २६ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब ७.८६% धेरै हो ।
यता, म्युचुअल फन्डहरुको बैंक मौज्दात भने ३.६६% ले घटेको छ । यसअवधिमा फन्डहरुले कुल ८ अर्ब ४९ करोड ८० लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंक मौज्दात थियो ।