इसेवाले ल्यायो ग्राहकका लागि ‘इस्क्रो’ सुविधा
काठमाडौं । इसेवाले आफ्ना ग्राहकका लागि नयाँ फिचर ‘इस्क्रो’ सुविधा ल्याएको छ । अनलाइन सपिङमा अग्रिम भुक्तानीपछि ग्राहकमाथि हुन सक्ने ठगी रोक्नका लागि यो सुविधा ल्याइएको इसेवाले जनाएको छ ।
अनलाइन माध्यमबाट सामान खरिद गर्दा बिक्रेतालाई समयमै भुक्तानी नहुने वा ग्राहकले अग्रिम भुक्तानी गरेपनि समयमै सामग्री नपाउने वा अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्क विहीन हुने जस्ता समस्या समाधान गर्नका यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने इसेवाको भनाइ छ । इसेवाको मोबाइल एपमै उपलब्ध इस्क्रो फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत पुर्याउने विश्वास इसेवाको छ ।
इस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्ने विश्वास कम्पनीको छ । यसले खरिदकर्ता र बिक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ भने सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर सम्भावित जोखिमलाई कम गर्नुका साथै अनलाइन सपिङ लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ ।
इसेवाका अनसार यो सुविधा अन्तर्गत कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ । प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको भित्र प्रयोगमा गर्न सक्छन्।
यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण अनलाइन सपिङ गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु रहेके इसेवाले जनाएको छ ।
इस्क्रो सुविधा इसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ । यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ । अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सुविधा मार्फत गर्न सकिन्छ ।