भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (साउन १४ गते) अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०% अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको छ । यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।