थप सात ब्रोकर कम्पनीलाई नेप्सेले दियो सदस्यता, कुन कुनले पाए ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ७ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीहरूले नेप्सेको सदस्यताका लागि आवेदन दिएका थिए । ती मध्ये आवश्यक कागजात पेश गरेका सात कम्पनीलाई सदस्यता प्रदान गरिएको हो ।
सदस्यता पाउने थप कम्पनीहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड शेयर एक्सचेन्ज र कलश स्टक मार्केट रहेका छन् । यी कम्पनीहरूसँगै आशयपत्र प्राप्त गरेका नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिजले भने सदस्यताको पखाईमै रहेका छन् ।
यस अघि ६७ नम्बरसम्म ब्रोकर सदस्यता वितरण गरिसकेको नेप्सेले ६८ नम्बरमा एटिल स्टक हाउस लिमिटेड, ६९ नम्बरमा इन्डेक्स सेक्युरिटिज , ७० नम्बरमा इन्फिनिटी सेक्युरिटिज लिमिटेड , ७१ नम्बरमा शुभकामना सेक्युरिटिज, ७२ नम्बरमा हातेमालो फाइनान्सियल सर्भिसेस , ७३ नम्बरमा मनि वल्ड शेयर एक्सचेन्च र ७४ नम्बरको कलस स्टक मार्केटलाई सदस्यता प्रदान गरेको छ ।
यस अघि पनि नेप्सेले पहिलो तहको सिमित कार्य गर्ने ७ कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । ती कम्पनीहरूले भने असारदेखिनै धितोपत्र बजारमा प्रवेश गरी कारोबार सुरू गरिसकेका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डले तीन चरणमा २९ कम्पनीहरूलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ । बोर्डको लाईसेन्स प्राप्त गरेका सबै कम्पनीहरूले नेप्सेको समेत सदस्यता लिनुपर्ने हुन्छ ।