विदेश जानेले २५ सय डलर वर्षमा दुई पटकमात्र पाउने
काठमाडौं । विदेश जाने नेपालीले वर्षमा दुई पटकमात्र २५ सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् ।
यसअघि १५ सय डलर सटही सुविधा दिएको केन्द्रीय बैंकले मौद्रिक नीतिमा सटही सुविधा २५ सय डलर पुर्याएको घोषणा गरेको थियो । तर, एक व्यक्तिले वर्षमा दुई पटकमात्र २५ सय डलर लैजान पाउनेगरी शुक्रबार संशोधित एकीकृत परिपत्र जारी गरेको हो ।
मौद्रिक नीतिमा बैंकले विदेश जानेले डलर कति पटकसम्म साट्न पाइने भन्ने एकीन गरेको थिएन । मौद्रिक नीतिको छिद्रबाट पूँजी पलायन हुने र विदेशी मुद्रा सञ्चितिमै पुन: धक्का लाग्ने जोखिम देखिएपछि कोटा तोकिएको केन्द्रीय बैंक स्रोतले आर्थिकन्यूजलाई जानकारी दियो ।
बैंकले जारी गरेको एकीकृत परिपत्रमा २५ सय बनाइएको सटही सुविधा वर्षमा दुई पटकका लागि हुने व्यवस्था गरिएको उल्लेख छ। ‘भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रतिपटक अमेरिकी डलर २,५००वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ,’ नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै लेखेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई भने २०० अमेरिकी डलरमात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरिएको छ ।