आर्थिक वृद्धि लयमा फर्कने आईएमएफको विश्वास, मौद्रिक नीतिको स्वागत
काठमाडौं । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसनले “गत वर्षको आर्थिक मन्दीपछि, आर्थिक वर्ष २०२३/२४ मा वृद्धिले पुनःउकालो लाग्ने अनुमान गरिएको छ । साथै अब नेपालको मुद्रास्फीति घट्ने अपेक्षा गरिएको छ ।
आईएमएफको एसिया प्रशान्त समूह उपप्रमुख टिडियान किन्डाले नेपालको भ्रमणपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बाह्य स्थिति बलियो हुँदै जानेछ। सावधानी र तथ्याङ्क(संचालित मौद्रिक नीतिले मूल्य र बाह्य स्थिरता कायम राख्न उपयुक्त अडान राखेको छ। बैंकहरूको सम्पत्तिको गुणस्तरमा निरन्तर सतर्कता र पर्यवेक्षकीय प्रयासहरूलाई बढाउँदै वित्तीय स्थायित्व जोगाउन महत्त्वपूर्ण छ। वित्तीय स्थायित्व सुरक्षित गर्न आर्थिक वर्ष २०२३/२४ को बजेटको विवेकपूर्ण कार्यान्वयन महत्वपूर्ण छ। आर्थिक वर्ष २०२३/२४ को बजेटमा परिकल्पना गरिएका उपायहरू कार्यान्वयन गर्दा पूँजीगत खर्चको दक्षतामा सुधार हुनेछ।’
आईएमएफको टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीसँग भेटघाट गरेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति तथ्यांकमा आधारित भएको जनाएको छ ।
नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ)का लागि गरेका प्रतिबद्धताअनुसार काम भए नभएको अनुगमनमा आएको आईएमएफको टोलीले तथ्यांकमा आधारित मौद्रिक नीतिले नेपालको अर्थतन्त्र सुधार हुँदै जाने बताएको छ । आईएमएफको एसिया प्रशान्त समूह उपप्रमुख किन्डाको नेतृत्वमा साउन ४ देखि १० सम्म नेपाल मिसनमा आएको टोलीले वित्तीय स्थायित्व कायम राख्नका लागि बैंकहरुको सम्पत्तिको गुणस्तरमा ध्यान दिन र अनुगमन बढाउन जरुरी रहेको जनाएको छ ।
साथै वित्तीय स्थायित्व कायम गर्न आर्थिक वर्ष २०८०र८१ को बजेटको विवेकसंगत ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण रहेको मिसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बजेटमा परिकल्पना गरिएका उपायको प्रभावकारी कार्यान्वयनले पुँजीगत खर्चमा सुधार हुने पनि मिसनको विश्वास छ । आफ्नो प्रावधिक सहयोगमा कार्यान्वयन भइरहेका कार्यक्रमअन्तर्गतका प्रतिबद्धता पूरा गर्न सरकारी अधिकारीहरुले गरेका प्रयासको आईएमएफले सराहना गरेको छ ।