टीबीसी स्टार्टअप फेस्ट–२०२३ सम्पन्न

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट–२०२३ सम्पन्न भएको छ । हिमालय होटलमा आइतबार सम्पन्न प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टिम प्रथम, ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ दोस्रो र ‘बायो–इन्जाइम’ टिम तेस्रो भएको आयोजकले जनाएको छ ।
पहिलो हुने टिमको नेतृत्व रधिक थापाले गरेका थिए । यो टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ बारे विचार प्रस्तुत गरेको थियो । प्रथम हुने यो टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने यस टिमका सदस्यहरुले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन्।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरु भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए। उनीहरुले पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
तेस्रो बन्न सफल ‘बायो–इन्जाइम’ टिमले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उनीहरुले वातावरणमैत्रि सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेका थिए।
टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरुको लागि आफ्नो उद्यमशील विचारहरु प्रस्तुत गर्ने र उनीहरुको स्टार्टअपहरुमा लगानी गर्ने उदेश्यले सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन नेपालभरका बिभिन्न कलेजहरुका ५० जना विद्यार्थीहरुले आ–आफ्नो विचारहरु प्रस्तुत गरेका थिए। ती मध्ये उत्कृष्ट १० विचारहरुलाई अघिल्लो चरणको लागि छनोट गरिएको थियो।
उत्कृष्ट १० विचारहरुमा सहभागी भएका ५० जना विद्यार्थीहरु मध्यबाट पाँच टिम बनाइएको थियो। त्यसपछि सो टिमका सदस्यहरुलाई शनिबार विशेषज्ञ तथा टीबीसीका प्रोफेसरहरुले ग्रुमिङ सेसन दिएका थिए। सो सेसनको माध्यमबाट विद्यार्थीहरुले थप ज्ञानहरु प्राप्त गरी आफ्नो विचारहरुलाई सुधार गर्ने र अझै राम्रो प्रस्तुत गर्ने अवसर पाएका थिए।
कार्यक्रमको अन्तिम दिन विशिष्ट अतिथिहरु प्रा. टिम गोचर ओबीई र डा. पुकार मल्लले आफ्ना भनाइहरु राखेका थिए ।
टीबीसी इन्क्युबेसन सेन्टरले शुक्रबारदेखि सुरु गरेको प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नवप्रवर्तन, प्रभाव र दिगो विकासका लक्ष्यहरुमा केन्द्रित रहँदै आफ्ना धारणाहरु राखेका थिए ।
प्रतियोगिताको आयोजनाले विद्यार्थीहरुले आफ्नो विचारहरु प्रस्तुत गर्ने अवसर पाएको टीबीसीको विजनेश स्कुल विभागकी प्रमुख सुनिता बस्नेतले बताइन्।
‘ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशील इकोसिस्टममा योगदान पुर्याउने लक्ष्य राखको र स्टार्टअप फेस्ट र यसै उदेश्यको हिस्सा हो,’ बस्नेतले भनिन्, ‘उद्यम, प्रभाव र एसडीजी सम्बन्धी पाठ्यक्रमहरु प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा हाम्रा लागि युवाहरुको विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ। त्यसैले हामी यो कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य राखेका छौ। भविष्यमा अझ धेरै शैक्षिक संस्था तथा उद्योगीहरुसँग सहकार्य गर्न चाहान्छौं ।’
प्रतियोगितामा निर्णायकका रूपमा स्नेह राजभण्डारी, आशुतोष दीक्षित, अमित अग्रवाल र ब्रिटिस कलेजका उप–प्राचार्य डा. प्याट्रिक म्याक्रडन रहेका थिए ।