सेतीखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी १ अर्ब ५० करोड रूपैयाँ, जारी पुँजी १ अर्ब ५० करोड रूपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा बि.स. २०८० असार २९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फन्ड (आइआई ) रहेको छ । जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानीय बासिन्दाहरुको रहेको छ ।
यस कम्पनी अध्यक्ष अनुप आचार्य तथा सञ्चालकहरुमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् । यो २२ मेगावाट क्षमताको परियोजना हो । कम्पनीले बि.स. २०८१ साउन १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५ अर्ब ५ करोड रहेको छ । हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।