निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो, ईपीएस कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (ल्क्ष्ँच्ब्) ले अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो।
खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन मुनाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।
गत असार मसान्तसम्ममा २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ।