भारतको ‘एमआरआई’ अस्पतालले अन्तर्राष्ट्रियस्तरको सुविधा दिने

काठमाडौँ । भारतको कोलकातामा रहेको एमआरआई अस्पतालले नेपाली बिरामीका लागि अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिने भएको छ ।
मंगलबार काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै अस्पतालका सिइओ रुपक बरुवाले नेपालबाट उपचारका लागि आउने बिरामीलाई उच्च प्राथमिकता दिएर सेवा उपलब्ध गराउने बताए । उनले अस्पतालका तर्फबाट नेपाललाई विश्वस्तरको मेडिकल पर्यटन सेवा प्रदान गरिने धारणा राखे ।
‘अहिले पनि वार्षिक ८ हजार ५ सयदेखि ९ हजार जनासम्म नेपाली बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने। नेपाली बिरामीहरू धेरैजसो मुटु, हाडजोर्नी, नसा, मिर्गौलालगायतका समस्या लिएर आउने गरेको बरुवाको भनाइ छ ।
उनका अनुसार बिरामीले चाहे विमानस्थलमा रिसिभ गर्नेदेखि होटलमा बसेर सहज ढंगले उपचार गर्ने व्यवस्था अस्पताल व्यवस्थापनले नै मिलाउनेछ ।
अस्पतालका मिर्गौला रोग विशेषज्ञ डाक्टर आरघे मजुमदरले हालसम्म एएमआरआई अस्पतालमा ६२ जना नेपालीको मिर्गौला प्रत्यारोपण गरिसकेको बताए । उनका अनुसार मिर्गौला प्रत्यारोपणका लागि ८ देखि ९ लाख भारतीय रुपैयाँ खर्च हुने बताए ।
उनले मुटुको समेत समस्या भएका मिर्गौला रोगीलाई पहिला मुटुको शल्यक्रिया गरी ठिक भएपछि मिर्गौला प्रत्यारोपण गर्ने गरिएको र त्यसमा शतप्रतिशत सफलता प्राप्त गरिरहेको बताए।
एएमआराई अस्पतालले मुटुका समस्या भएका बिरामीका लागि समेत उच्च गुणस्तरको सेवा प्रवाह गरिरहेको अस्पतालका कार्डियोथोरिसक तथा भास्कुलर सर्जन प्रो.डा. सिद्धार्थ मुखर्जीले बताए। आफूहरूको पहिलो प्राथमिकता बिरामी रहेको भन्दै उनले जुनसुकै बेला पनि सेवा दिने तयारी गरिएको बताए। उनका अनुसार अस्पतालमा दैनिक १० जना बिरामीको कार्डियाक सर्जरी हुने गरेको छ।
बर्सेनी धेरै नेपाली मुटु, मिर्गौलाजस्ता जटिल रोगको उपचारका लागि भारत जाने गर्छन् । धेरैजसो नयाँ दिल्लीका विभिन्न अस्पताल जाने गरे पनि कोलकातामा रहेको एएमआरआई अस्पताल उपयुक्त गन्तव्य हुनसक्ने सिइओ बरूवाले बताए।
उनका अनुसार नेपाली बिरामीलाई लक्षित गरी ललितपुरको स्टार अस्पतालसँगको समन्वय टेलिकन्सल्टेसन सेवा पनि सुरु गर्ने तयारी गरिएको छ।
‘नेपाली बिरामी पटक–पटक फलोअपका लागि कोलकाता आउन नपरोस् भनेर टेलिकन्सल्टेसन सेवा पनि सुरु गर्ने तयारी गरेका छौं’, बरुवाले भने, ‘यस विषयमा हामी स्टार हस्पिटलसँग पनि कुरा गर्दैछौं।’
पूर्वी भारतको सबैभन्दा ठूलो निजी अस्पताल एएमआरआई भारतको कोलकातामा रहेको छ ।