१ वर्षमा बजार अनुगमन ३ हजार ६९५ पटक, १ करोड ९८ लाख जरिवाना

काठमाडौं । बजारमा उपभोक्ता हित कायम गर्ने केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक वर्षमा ३ हजार ६९५ पटक बजार अनुगमन गरेको छ ।
विभागकाअनुसार देशभर भएको अनुगममा ७ सय ९९ वटा फर्मलाई जरिवाना गरिएको र सो बापत एक करोड ९८ लाख ४ हजार एक सय रुपैयाँ जरिवाना संकलन भएको छ । अनुगमन गरिएकामध्ये एक हजार १५५ फर्मको कागजात अध्ययनका लागि माग गरेको विभागले जनाएको छ ।
एक हजार ४८० फर्मको अवस्था सामान्य पाइएको थियो । २१३ वटा फर्मको कैफियत विभागले खुलाइएको छैन भने ९१ वटा फर्मबाट अखाद्य वस्तु संकलन गरेर नष्ट गरिएको विभागले जनाएको छ । यसरी नष्ट गरिएका वस्तुको मूल्य एक करोड ६४ लाख ३२ हजार रुपैयाँ बराबर छ ।
यस्तै दुई वटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ । वर्ष भरी बजार अनुगमनका लागि विभाग मातहतबाट एक हजार २७२ टोली परिचालन भएको विभागका सूचना अधिकारी होमनाथ भट्टराईले जानकारी दिए ।
यो वर्ष विभागले सबै भन्दा धेरै अनुगमन खाद्य वस्तुमा गरेको जनाएको छ । विभागका अनुसार २४१ अनुगमनबाट ४९ लाख ९६ हजार एक रुपैयाँ जरिवाना गरिएको छ ।
रेडिमेड तथा थान कपडामा ९० अनुगमनबाट १६ लाख ४७ हजार, होटल तथा रेष्टुरेन्ट अनुगमनबाट २३ लाख ४० हजार जरिवाना संकलन भएको विभागले जनाएको छ ।
किराना पसलमा ३२ पटक, भाँडाकुँडा पसलमा २८ पटक, जुत्ता चप्पल पसलमा २४ पटक, इलेक्ट्रिकल तथा इलेक्ट्रिोनिक्स र तरकारी तथा फलफूल पसलमा २३/२३ पटक अनुगमन भएको थियो ।