आईपीओ जारी गर्न प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्टले माग्यो बिक्री प्रबन्धकको आवेदन

काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागी बिक्री प्रबन्धकको आवेदन माग गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनको तयारीका लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतकर्ता जुटाउने प्रतिबद्धता र आवश्यक सेवा शुल्क निर्धारण गरेको हुनुपर्ने कम्पनीले जनाएको जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त कम्पनीको बिक्री प्रबन्धक हुन योग्य कम्पनी र संस्थाहरुले ४५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फारम कम्पनीको उद्योगस्थित कार्यालय वा शाखा कार्यालयहरुबाट लिन सकिने जनाएको छ। यस्तै शीलबन्दी फारमसँगै प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड कम्पनीको सनराइज बैंक तिनकुने शाखाको चल्ती खाता नम्बर ००६११८८९७९७०१००१ मा ३ हजार रुपैयाँ जम्मा गरेको बैंक भौचर आवेदन फारमसँगै पेश गर्नु पर्नेछ ।
जेठ २०७५ मा स्थापना कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १०२ करोड रहेको छ । सार्वजनिक निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ । जसमध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुपस्का प्रभु होल्डिङ, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड र हाइड्रो होल्डिङ्स, कम्पनीका कर्मचारीका लागि छुट्याउने कम्पनीले जनाएको छ । यस्तै २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ ।