घोराही सिमेन्टको आईपीओ बाँडफाँट, ७० कित्तासम्म भर्नेले माग अनुसार पाए
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन परेको थियो । त्यस मध्ये २३ हजार ८४५ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार ५ लाख ५७ हजार ७०१ जना योग्य आवेदन परेको थियो ।
कम्पनीको आईपीओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले शेयर वितरण गरेको छ ।
त्यस पश्चात बाँकि रहेकाे ६ हजार ९१० कित्ता शेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जना मध्ये ६९१ जनालाई गाेलाप्रथा माध्यमबाट थप १० कित्ताका दरले वितरण गरेकाे छ । त्यस अनुसार अधिकत ८० कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।
यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई पनि शेयर वितरण गरिसकेको छ ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता शेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता शेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँड गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरेकाे हाे ।