इक्यान अध्यक्षमा चार प्रत्यासी, १८ पदमा ४४ जनाको दावेदारी
![ECAN ECAN](https://www.arthikpati.com/wp-content/uploads/2023/07/ECAN-1024x585.jpg)
काठमाडौं । शैक्षिक परामर्शदाताहरूको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि चार जना चुनावी मैदानमा उत्रिएका छन् ।
शनिबार हुने निर्वाचनमा दुई प्यानलसहित अध्यक्षका चार प्रत्यासीले उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिका अनुसार १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ ।
अध्यक्षमा पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले पनि अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा राजन गोदारसहितको उम्मेदवारी परेको छ । उनी स्वतन्त्रतर्फका प्रत्यासी हुन् ।
यस्तै, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २/२ जना, सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । संघको सचिवमा दुई जना मात्रै रहने विधानको व्यवस्था छ ।
यस्तै, ९ जना कार्यसमिति सदस्य पदका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । संघमा ४६७ जना मतदाता छन् ।