प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले आज एक समारोहकाबीच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच सय करोड पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साबिक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको थियो । २०८० जेठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।
मर्जरपछि यस कम्पनीको चुक्ता पुँजी ४२९.६ करोड पुगेको छ भने कर्मचारी संख्या ४४२ रहेको छ । मर्जरपछि कम्पनीको शाखा तथा उपशाखा एक सय १५ वटा पुगेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरिरहेका सञ्चालक उमेशलाल श्रेष्ठले बीमा बजार झन् झन् प्रतिस्पर्धा हुँदै गइरहेको बताए । मर्जर पछि दुवै कम्पनीका कर्मचारीहरूलाई मिलाएर ऊर्जाशील बनाउने जिम्मेवारी दुवै कम्पनीका कार्यकारी प्रमुखहरूको काँधमा आएको छ । बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरे ।