भद्र सहमतिका नाममा हुँदै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य, बैंकहरुले आफैं ब्याजदर तय गर्ने
काठमाडौं । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले मिलेमतोमा तोक्दै आएको ब्याजदरलाई साउनदेखि खुला छोड्ने निर्णय गरेको हो । अब निक्षेपको ब्याजदर सम्बन्धित बैंक आफैंले तोक्न पाउने भएका छन् ।
साउनबाट ब्याजदर खुला छोडिदिने निर्णय भएको बैठकमा सहभागी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताएका छन् । यससँगै अब, साउन १ गतेदेखि लागू हुने ब्याजदर घटाउने, बढाउने वा स्थिर राख्ने विषयको निर्णय सम्बन्धित बैंक आफैंले गर्न सक्नेछन् ।
यता, अधिकांश बैंकहरुले साउन महिनाको लागि निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । बैंकमा लगानी योग्य पुँजी थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउन लागेका हुन् । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दै जान्छ ।
अहिले बैंकहरुले मुद्दति निक्षेपमा ९.९९% ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसआधारमा बैंकहरुले ब्याजदर बढाएमा ११% नजिक र घटाएमा ९% भन्दा तल आउने देखिन्छ ।
बैंकहरुमा अधिक तरलताको अवस्था आएपछि आफूखुशी ब्याजदर निर्धारण गर्ने निष्कर्षमा बैंकहरु पुगेका हुन् । यसबाट सर्वसाधारणले अब निक्षेपमा कम ब्याज पाउने अवस्था आउनेछ भने कर्जाको ब्याजदर पनि घट्दै जानेछ । यसअघि निक्षेप संकट भएपछि बैंकहरुले मिलेमतोमा ब्याजदर निर्धारण गरेका थिए ।