असार ३१ गतेदेखि एक हुँदै विजय र सारथी लघुवित्त
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार ३१ गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । दुबै बैंकले सुचना जारी गर्दै एकिकृत कारोबारको मिति सार्वजनिक गरेका हुन् ।
मर्जर सम्झौता गरेको सात महिनामा यी दुई कम्पनीले एकिकृत कारोबार सुरू गर्न लागेका हुन । यी दुई कम्पनीबीच गत मंसिर २६ गते साझ मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डबाट असार २१ गते यी कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका हुन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कम्पनीहरूले असार २४ गते स्वीकृति पाएका हुन । यी प्रक्रिया पुरा भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन् । एकिकृत कारोबारपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरू हुनेछ । मर्जरपछि बन्ने यस कम्पनीको केन्द्रिय कार्यालय धुलिखेला, काभ्रेपलाञ्चोकमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
यी दुई कम्पनी समान हैसिएतमा मर्ज हुन लागेका हुन । हाल नयाँ सारथी लघुवित्तको चुक्तापूँजी रू. ३६ करोड १० लाख ४० हजार रहेको छ भने विजय लघुवित्तको चुक्तापूँजी रू. ३८ करोड ४० लाख रहेको छ । दुई कम्पनी एक भएपछि बन्ने कम्पनीको चुक्तापूँजी भने रू. ७४ करोड ५० लाख ४० हजार पुग्नेछ ।
एकिकृत कारोबारका दिनदेखि सूचीकृत दुबै कम्पनीको शेयर कारोबार १५ दिनका लागि बन्द रहनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पुरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।