कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन खुला
काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आज मंगलबार असार २६ गतेदेखि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
यो कम्पनीको १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला भएको हो । यो मध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५% (६ हजार ९३ कित्ता) सामूहिक लगानी कोष र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ कात्तिक २५ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक २४ गतेसम्म बाहल रहनेछ ।