‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ सम्पन्न
काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । उद्यम तथा व्यावसायिक क्षेत्रमा सफल व्यवसायी तथा उद्यमी महिलालाई प्रोत्साहन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख प्रायोजनमा न्यू बिजनेश एज प्रालिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो सत्रमा प्यानेल छलफल र दोस्रो सत्रमा अवार्डस् वितरण गरिएको थियो । ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ विषयमा भएको प्यानल छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा र रम्सन नेपालकी सहसंस्थापक रुमी सिंह वक्ताको रूपमा रहनु भएको थियो । छलफलको सहजीकरण स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा ट्रान्ज्याक्शन बैंकिंगका कन्ट्री हेड माइकल सिद्धिले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी थिए । सोही कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ८३ हजार ३ सय महिला ऋणीलाई ६१ अर्ब सहुलियतपुर्ण कर्जा प्रवाह गरिएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले भने, ‘स्ट्याण्डर्ड चार्टडमा हामी के विश्वास गर्छौं भने हाम्रा समुदायमा रहेका युवाहरुलाई तथा साना व्यवसायहरुलाई सहयोग गर्नु भनेको हाम्रा बजारहरुमा सहभागिता बढाउने तथा वित्तीय समावेशिता प्रवर्धन गर्ने तर्फ एउटा महत्वपूर्ण कदम हो जसले सार्थक रुपमा परिवर्तन ल्याउँछ । व्यावसायिक प्रणालीमा सार्थक परिवर्तन ल्याउन क्रियाशील यति धेरै प्रतिभाशाली महिला उद्यमीहरुलाई एकसाथ यहाँ एउटै छानामुनि भेटन पाउँदा म आफूलाई धेरै गौरवान्वित ठान्दछु । आधुनिक नेपाली महिलाहरु शक्तिका पुन्ज हुन् जसले राजनीति, फेशन, व्यवसाय, विज्ञान, खेलकूद, कला आदि सबै क्षेत्रहरुमा आफ्नो छाप छोडिरहेका छन् ।’
७ विधामा १३ लाई सम्मान
सम्मान कार्यक्रममा यसवर्ष ७ विधामा १३ महिलाहरूलाई सम्मान गरिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्डबाट याङकिला शेर्पा (प्रबन्ध निर्देशक, स्नो लियोपर्र्ड ट्रेक), सोसल आन्त्रप्रेनर अफ द इयरबाट डा. आनन्दशोभा ताम्राकार ( भर्मीकम्पोस्ट विज्ञ), वुमन इन टेक अफ द इयरबाट अलिशा श्रेष्ठ (सहसंस्थापक, अम्निल टेक्नोलोजीज प्रालि), प्रोफेशनल वुमन अफ द इयरबाट सेवा पाठक (सीईओ, भायनेट कम्युनिकेशन), बिजनेश वुमन अफ द इयरबाट पद्मासना शाक्य (अध्यक्ष, मानुषी लघुवित्त वित्तीय संस्था), वुमन आन्त्रप्रेनर अफ द इयरबाट डा. प्रतिभा पाण्डे (मेडिकल डाइरेक्टर, सिवेक हस्पिटल) सम्मानित भएका छन् ।
त्यसैगरी सातै प्रदेशबाट इन्टरप्राइजिङ वुमन अफ द इयरका रूपमा १–१ जना उत्कृष्ट महिला उद्यमी नगद पुरस्कार सहित सम्मानित भएका छन् । कोशी प्रदेशबाट डिना प्रधान (बारी रोस्टरी एन्ड प्याकेजिङ उद्योग), मधेश प्रदेशबाट चन्चला दास (वुमन स्किल सेन्टर), बागमतीबाट अनुष्का श्रेष्ठ (लशकुश फूड प्रोडक्टस्), गण्डकीबाट सुुकुन रसाइली बिक (मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग), लुम्बिनीबाट विन्दु चर्तीमगर (चर्ती फ्लोरा), कर्णालीबाट शिला विश्वकर्मा नेपाली (जेएफ रत्नपत्थर प्रशोधन केन्द्र) र सुदूरपश्चिम प्रदेशबाट संगिता खड्का (पिएस ट्राभलप्वाइन्ट टुर्स प्रालि) सम्मानित हुनु भएको छ । नगद पुरस्कारको रकम नेशनल लाइफ इन्स्योरेन्स कम्पनी की अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले व्यक्तिगत रुपमा उपलव्ध गराएकी हुन ।
सात प्रदेशबाट करीब २ हजार महिला उद्यमीको विवरण संकलन गरेर स्वतन्त्र निर्णायक मण्डलले विभिन्न चरणको मूल्यांकनपछि सम्मानित हुने महिलाहरूलाई छनोट गरेको हो । निर्णायक मन्डलमा राधेश पन्त (अध्यक्ष), बर्षा श्रेष्ठ, अन्जु शर्मा, आभा शाह तथा वासन्ती प्रधान रहेका थिए ।
अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महत हुनुहुन्थ्यो । अर्थमन्त्री महतले अब घरको अर्थतन्त्र मात्र नभई देशको अर्थतन्त्र पनि महिलाको हातमा हुने बताए ।
अवार्डस्को मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेको थियो भने आइएमई लाइफ, सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छ«े बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड, ब्यन्जन, न्यू भी. रोथो र वल्र्डलिंकको समिट तथा अवार्डस्मा सहयोग रहेको थियो ।