पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । सबै बक्यौता चुक्ता भएर महिनामै ३ अर्ब रुपैयाँ नाफा हुने गरी भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ ।
त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । निगमले दुरीको आधारमा पहिलो वर्ग दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न जिल्लाहरुको वर्गिकरण गरेर बिक्री मूल्य निर्धारण गरेको हो ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।
अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।
त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएर १ सय ३६ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको छ ।