सुरक्षा प्रबन्ध नमिलाए बैंकिङ सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । केही दिनदेखि बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरूमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएमा बैंकहरू सेवा बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
“यदि निर्वाधरूपमा सुरक्षित वातावरणमा प्रचलित ऐन कानुनद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदत्त अधिकारको प्रयोग गर्दै सोही बमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाहरूले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्तर्गतका निकायहरूबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सेवा पूर्णरूपमा बन्दै गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत गराउँदै र सोबाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाहरूको हक, हित संरक्षण तथा सम्बर्द्धनमा गम्भीर र संकट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भएकाले नेपाल सरकारलगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
परिसंघले बैंक तथा वित्तीय संस्थाका शाखामा क्षति पुर्याउने, कर्मचारीहरूमाथि दुर्व्यवहार गर्नेहरूविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको छ । साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग माग पनि सिबिफिनले उल्लेख गरेको छ ।