आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, १ वर्ष ३ महिना कैद हुने

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई १ वर्ष ३ महिना कैद सजाय हुने फैसला गरेको हो ।
यस्तै, खड्काको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीका नाममा राखेको दुईवटा जग्गासमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ । उनलाई ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसला पनि भएको छ ।
अख्तियारले २०७५ पुस २३ गते खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैंया बिगो कायम गरी मुद्दा दायर गरेको थियो । खड्काले पदमा रहँदा कानुनविपरीत कमाएको सम्पतिको श्रोत नखुलेकोले त्यसरी अकुत रुपमा सम्पति गैरकानुनी रुपमा आर्जन गरेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।