अलटाइम हाई रेकर्ड बनाउँदै भारतीय सेयर बजार
काठमाडौं । भारतीय सेयर बजारले पछिल्लो समय दैनिकजसो अलटाइम हाई रेकर्ड कायम गर्न थालेको छ । बुधबारको रेकर्ड ब्रेक गर्दै भारतको प्रमुख सेयर बजार सूचकहरु ‘बीएससी सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले शुक्रबार पनि नयाँ अलटाइम हाई विन्दु छोएका छन् । सुरुवाती कारोबारमै सेन्सेक्स बढेर ६५,३७३ विन्दुको अल टाइम हाई विन्दु छोएको हो । त्यसपछि भने केही तल झरे पनि बिहान ११ बजेसम्ममा ४०५ अंकले बढेर ६४,३२० विन्दुमा कारोबार भइरहेको छ ।
यता, अर्को सूचक ‘निफ्टी ५०’ ले पनि शुक्रबार १९,१०४ को रेकर्ड उच्च विन्दु छोएको छ । त्यसयता भने १०५ अंकले बढेर १९,०७८ विन्दुमा कारोबार भइरहेको छ । शुक्रबार अन्तराष्ट्रिय बजारको प्रभाव पनि भारतीय बजारमा परेको छ । विशेषगरी, बिहीबार अमेरिकी सेयर बजारमा सुधार देखिएपछि भारतीय सेयर बजारका लगानीकर्ता पनि सकारात्मक देखिएका छन् ।
पछिल्लो समय भारतको सेयर बजारलाई नयाँ उचाइमा पुर्याउन विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) को भूमिका महत्त्वपूर्ण देखिएको छ । जुन महिनासहित एफपीआईले लगातार चौथो महिना पनि भारतीय सेयर खरिद कायम राखेपछि बजार रेकर्ड विन्दुमा पुगेको हो ।