नेप्से सूचक करिब ६ महिनायताकै उच्च विन्दुमा, ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार
सेयर बजारले उत्साह जारी रहेको छ । मंगलबार नेप्से सूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा बन्द भएको छ । नेप्सेको यो क्लोजिङ विन्दु करिब ६ महिनायताकै उच्च हो । यसअघि गत जनवरी १० मा नेप्से सूचक २१९० विन्दुमा बन्द भएको थियो । मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यता, मंगलबार पनि माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह ८.९६% ले बढेको छ । पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । बैंकिङ प्रणालीमा प्रसस्त मात्रामा तरलता हुनु र ब्याजदर पनि क्रमिक रुपमा घट्दै जानु सेयर बजार बढ्नुका प्रमुख कारणहरु रहेका छन् ।
ब्याजदर सस्तो हुँदा ऋण लिएर लगानी गर्नेहरुका लागि थप सहज वातावरण सिर्जाना हुनेछ । यता, पछिल्ला दिनहरुमा अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा राम्रो सुधार भएको छ । जसको सकारात्मक प्रभाव पनि सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ ।
यस दिन २७५ कम्पनीको १ करोड ३१ लाख कित्ता भन्दा बढी सेयर खरिदबिक्री भएको छ । २५ वटा कम्पनीको भाउ १०% ले बढेको छ । स्वावलम्बन लघुवित्तको सबैभन्दा बढी २५ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा शिवम् सिमेन्ट्सको २२ करोड ६३ लाख रुपैयाँ र तेस्रोमा सोल्टी होटलको २२ करोड ४२ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।