बाढीका कारण जलविद्युत आयोजनामा अर्बौंको क्षति, क्षतिको अध्ययन गर्दै बीमा कम्पनीहरु

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले हालसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो ।
बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ र निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको इप्पानले जनाएको छ ।
जलविद्युत कम्पनीहरुमा अर्बौको क्षति भएपछि निर्जीवन बीमा कम्पनीहरुले क्षतिको अध्ययन थालेका छन् । निर्जीवन बीमा कम्पनीहरुले आफुले बीमा गरेका कम्पनीहरुको स्थलगत अध्ययन गरी क्षतिको विवरण संकलन गर्न थालेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले मरो लगानीलाई जानकारी गराए ।
‘बीमा कम्पनीका सर्भेयरहरु आयोजना स्थल पुगिसकेका छन् । स्थलगत अध्ययन पछि सर्भेयरहरुले क्षतिको मूल्यांकन गर्नेछ,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ समेत रहेका अध्यक्ष क्षेत्रीले भने, ‘सर्भेयरहरुको भ्यालुएसन प्रतिवेदनको आधारमा बीमा दाबी भुक्तानी प्रकृया अघि बढ्छ ।’
ठुलो रकम दाबी भुक्तानी गर्नुपर्दा बीमा कम्पनीहरुमा त्यसको असर पुग्ने उनको भनाई छ । ‘एउटै कम्पनीमा ठुलो रकमको दाबी परेकोले त्यसको पूर्ति गर्न समय लाग्छ’ उनले भने ।
यस्तै इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर बाढीको क्षतिको जानकारी गराउने तयारी समेत गरेको छ ।
विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । यस्तै उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी गराए ।
भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए ।
त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ, ८.५० मेगावाट क्षमताको अप्पर हेवा खोलामा ५० करोड रुपैयाँ बराबरको क्षति इप्पानले जनाएको छ ।
बाढीका कारण निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ । यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ, ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको छ ।