हिमस्टार उर्जाले आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो बोर्ड
काठमाडौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा जेठ ३१ गते आवेदन दिएको हो ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणकाे लागि साे बराबरकाे शेयर निष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले सोलुखुम्बुकाे रावादाेलु र ओखलढुंगाको गाेली भएर बग्ने बुकु खोलाकाे पानी प्रयाेग गरी ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको गत भदौ २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।