जीवन बीमा कम्पनीको बीमाशुल्क एक खर्ब २४ अर्ब माथि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४.२४ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।
आर्थिक मन्दीका बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १५ वटा जीवन बीमा कम्पनीहरु मध्ये चार वटा कम्पनीको व्यवसाय भने खस्किएको छ ।
जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले ३२ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९९ प्रतिशत हो ।
गत आर्थिक वर्षको जेठसम्ममा कम्पनीले ३० अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा आइएमई लाइफको बीमाशुल्क २४.७९ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, नेशनल लाइफको १६.५५ प्रतिशत, महालक्ष्मी लाइफको ११.४३ प्रतिशतले बीमाशुल्क बढेको छ । नेपाल लाइफ, प्रभु लाइफ, सानिमा रिलायन्स लाइफको पनि बीमाशुलक ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने सूर्याज्योति लाइफ रहेको छ । सूर्याज्योति लाइफको बीमाशुल्क यस अवधिमा ०.२९ प्रतिशतले मात्रै बढेर ७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधीमा सूर्याज्योति लाइफले ७ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।