‘आदिपुरुष’ नेपालमा प्रदर्शन नहुने

काठमाडौं । चलचित्र संघले ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नगर्ने निर्णय गरेको छ । अदालतले हिन्दी चलचित्र प्रदर्शन गर्ने अनुमति दिए पनि संघले याे चलचित्र नचलाउने घाेषणा गरेकाे हाे ।
शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै ‘आदिपुरुष’ बाहेकका अन्य चलचित्रलाई मात्र प्रदर्शन गर्ने बताएकाे छ। यसैगरी, संघले नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत उल्लेख गरेकाे छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।
‘श्री उच्च अदालत पाटनले विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्रहरु प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु भनी जारी गरेको आन्तरिम आदेशलाई पालना गर्दै अर्काे आदेश नभएसम्म हिन्दी चलचित्र ‘आदिपुरुष’ बाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजबाट देशभर प्रदर्शन गरिने विज्ञप्तीमा लेखिएकाे छ । विज्ञप्तीमा थप लेखिएको छ, ‘नेपालको कानूनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो। राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन।’
बिहीवार उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई भारतीय फिल्मको प्रदर्शनमा रोक नलगाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे थियो। मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।