काठमाडौंका मेयर शाह दुविधामा हुनु दु:खद – किरण
काठमाडौं । राप्रपाका युवा नेता रवि किरण हमालले बालेन शाहका गतिविधि प्रति चासो व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले चर्चामा छन् । शाहले आदिपुरुष लगायत हिन्दी सिनेमा काठमाडौंमा चल्न नदिने निर्णय गरेको भन्दै सामाजिक संजालमा वाही वाही पाइरहेका छन् ।
मेयर शाहले गरेको निर्णय अदालतले उल्ट्याइदिएको छ । शाहले अदालतको निर्णय नमान्ने भन्दै सामाजिक संजालमा आक्रोश पोखेका छन् ।
उनले लेखेका छन् “ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन । ´´
राप्रपाका युवा नेता रवि किरण हमालले त्यसमाथि टिप्पणी गर्दै लेखेका छन् “ बालेन शाह स्थानीय तह प्रमुख हुन् , उनमा केही गर्ने हुटहुटी छ – म यसलाई सम्मान गर्छु । तर उनका गतिविधि विवादास्पद छन् , कमजोर छन् । नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गएका बालेन शाह र त्यही उच्च अदालत बाट भएको अर्को निर्णय मान्दैन भन्छन् । यो दुविधा काठमाडौंको मेयरमा हुनु दु:खद ।´´
मेयर बालेन शाह नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गएका थिए ।
त्यहीँ अदालतलाई मानेर प्रक्रियामा जाने तर उसले आफ्ना विरुद्ध गरेका निर्णय नमान्ने कुरा कमजोर र विवादास्पद हुने किरणको दाबी छ ।
किरणले भनेका छन् ` म लहडमा लाग्ने मान्छे होईन, अदालत अदालत जस्तो छैन । मेयर भनेपछि काठमाडौंमा उप-मेयरको नेतृत्वमा न्यायिक समिति छ , भोलि त्यसलाई पनि नमान्न सक्छन् । कि प्रक्रियामा जानू भएन , न्यायालयको पुनर्संरचना गर्ने मुद्दा उठान गर्नुपर्यो होईन भने यस्तो दुविधा राम्रो हुदैन ।´´
बालेनले केहि हप्ता पहिले नेपालको संविधानमा भएको नक्सालाई हटाएर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेर चर्चा बटुलेका थिए ।