भारतीय सेयर बजार इतिहासकै उच्च विन्दुमा
भारतको सेयर बजारले बुधबार नयाँ अल टाइम हाई रेकर्ड बनाएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ ले बुधबार सुरुवाति कारोबारमै इतिहासकै उच्च विन्दु छोएको हो ।
काठमाडौं । बुधबार बिहानको कारोबारमै ६३,५८८ विन्दुको नयाँ उचाइमा पुगेको हो । सेन्सेक्सले यसअघि गत डिसेम्बरमा बनाएको ६३,५८३ विन्दुको रकर्ड तोडेको हो । यता, अर्को सूचक निफ्टी ५० पनि रेकर्ड विन्दु नजिक कारोबार भइरहेको छ ।
भारतको सेयर बजारलाई नयाँ उचाइमा पुर्याउन विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) को भूमिका महत्त्वपूर्ण देखिएको छ । जुन महिनासहित एफपीआईले लगातार चौथो महिना पनि भारतीय सेयर खरिद कायम राखेपछि बजार रेकर्ड विन्दुमा पुगेको हो ।
यसअघि, जनवरी र फेब्रुअरीमा भने विदेशी लगानीकर्ताले ३ खर्ब ४० अर्ब भारु बराबरको सेयर बिक्री गरेर बाहिरिएका थिए । त्यसबेला, भारतीय सेयर बजारमा गिरावट आएको थियो । मार्चदेखि पुनः खरिद सुरु गरेयता भारतीय सेयर बजारमा पनि क्रमिक रुपमा सुधार आउँदै अल टाइम हाई विन्दुसम्म पुगेको हो ।