वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले कमाए ५७ अर्ब बढी नाफा
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले समग्रमा ५७ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा उक्त नाफा कमाएका हुन् ।
यसअघि चैत मसान्तसम्म (तेस्रो त्रैमासिक) को वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खुद नाफा समग्रमा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ रहेको थियो । यसआधारमा, एक महिनाको अवधिमै वाणिज्य बैंकहरुले ८ अर्ब ४५ करोड ९१ लाख रुपैयाँले खुद नाफा बढाएको देखिन्छ । वैशाख महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ रहेको छ । तेस्रोमा एनआइसी एसिया बैंकको नाफा ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३ अर्ब माथि छ । यता, कृषि विकास बैंकको नाफा भने सबैभन्दा थोरै १ अर्ब २२ करोड रुपैयाँ मात्र रहेको छ ।