लाइसेन्स प्रक्रिया तत्काल सुरु गर्न आग्रह गर्दै नयाँ ब्रोकरहरुले धितोपत्र बोर्डमा बुझाए ज्ञापनपत्र
काठमाडौं । नयाँ ब्रोकरहरुको संगठन ‘न्यू स्टक ब्रोकर एसोसिएसन नेपाल’ ले अर्थ समितिको निर्देशनपछि रोकिएको ब्रोकर लाइसेन्स प्रक्रियालाई सुचारु गर्ने पहल गरिदिन नेपाल धितोेपत्र बोर्डलाई आग्रह गरेको छ ।
बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै एसोसिएसनले लाइसेन्स प्रक्रिया अघि बढाउन बोर्डको तर्फबाट आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
हाल स्थगित गरिएको इजाजत तथा सदस्यता सम्बन्धि प्रक्रियालाई यथाशीघ्र सूचारु गर्न नेप्सेलाई लिखित निर्देशन प्रदान गरिदिन पनि संगठनले अनुरोध गरेको छ । अर्थ समितिले लाइसेन्स पाइसकेका र कारोबार सुरु गर्न लागिसकेका ब्रोकर कम्पनीहरुलाई समेत तत्काल रोक्न भन्दै अर्थ मन्त्रालयमार्फत जेठ २९ गते निर्देशन जारी गरेको थियो ।
हालसम्म १८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । यसमध्ये ७ वटाले नेप्सेबाट समेत सञ्चालनका लागि एलओआई पाइसकेका छन् ।